कञ्चनपुर इसाई समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि पाँच लाखभन्दा बढी सहयोग

महेन्द्रनगर । कञ्चनपुर इसाई समाज कञ्चनपुरले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख दुई हजार नौ सय पचास रुपैयाँ नगद जम्मा गरेको हो ।भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कञ्चनपुर इसाई समाजले जनाएको छ ।

समाजका तर्फबाट कोषमा रकम जम्मा गरिएको विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई समेत जानकारी गराइएको छ ।विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउने तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले समाजसँग आबद्ध विभिन्न चर्च तथा पदाधिकारीहरूको सहभागितामा रकम संकलन गरिएको जनाइएको छ ।


कञ्चनपुर इसाई समाजअन्तर्गत रहेका सम्पूर्ण कार्यसमिति सदस्य तथा जिल्लाका ९ वटै स्थानीय तहमा समाजसँग आबद्ध चर्चहरूले आर्थिक सहयोगमा सहभागिता जनाएको समाजका सल्लाहकार सन्तोष सुनामले जानकारी दिनुभयो ।उहाँका अनुसार विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले समाजका सदस्य तथा चर्चहरूमार्फत रकम संकलन गरिएको हो ।
सल्लाहकार सुनामले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कञ्चनपुर इसाई समाज अत्यन्त मर्माहत र स्तब्ध भएको बताउनुभयो । प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
कञ्चनपुर इसाई समाज कञ्चनपुरका अध्यक्ष नरीलाल चोधरीले बाढी तथा विपद्का कारण सम्पर्कमा नरहेका र बेपत्ता भएका नागरिकहरूको सकुशल उद्धार तथा आफन्तसँग पुनर्मिलनको कामना समेत गर्नुभयो ।
त्यस्तै, बाढीका कारण घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकाय, संघसंस्था तथा नागरिक समाजलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कञ्चनपुर इसाई समाज कञ्चनपुरले गरेको मानविय कार्य सराहनिय रहेको बताउँदै यो आर्थिक सहयोग प्रभावितहरुका लागी प्रयोग गरिने बताउनु भयो ।
विपदमा परेका नागरिकलाई तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाका लागि राज्यसँगै सामाजिक संघसंस्था, धार्मिक समुदाय, निजी क्षेत्र तथा आम नागरिकको समेत महत्वपूर्ण भूमिका रहने समाजको भनाइ छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि संकलित उक्त रकमले राहत तथा उद्धार कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास समाजले व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित तथा समस्यामा परेका नागरिकलाई मानवीय सहयोग गर्ने प्रतिबद्धता समाजले जनाएको छ ।

सम्बन्धित

Comments are closed.