महाकाली यातायातका नवनिर्वाचित अध्यक्षसहित सञ्चालकलाई प्रमाणपत्र वितरण

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि. कञ्चनपुरको नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।सोमबार सम्पन्न कम्पनीको निर्वाचनबाट अध्यक्ष पदमा नवीन भट्ट निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा भट्टले १ सय ७५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी विष्णु कडेललाई ५ मतले पछि पार्दै विजयी हुनुभएको हो। कडेलले १ सय ७० मत प्राप्त गर्नुभएको थियो ।यसैगरी कम्पनीको सञ्चालक समितिको सदस्यमा धिरेन्द्र चन्द, खगेन्द्र भट्ट, पुष्कर राज जोशी, रमेश थापा, पदमसिंह भाट, देवराज जोशी, आनन्दराज जोशी, भवानीसिंह रावल, दीपक केसी र बलराम पन्त निर्वाचित हुनुभएको छ ।

निर्वाचन सम्पन्न भएपछि निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा कम्पनीसँग आबद्ध व्यवसायी, यातायात क्षेत्रका प्रतिनिधि तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।निवर्तमान अध्यक्ष तथा सञ्चालक डम्बर पन्तले यो निर्वाचनलाई सौहार्द वातावरणमा सफल गराउनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यो निर्वाचनमा कोही कसेको हार वा जित नभएको र संस्थाको नितान्त आन्तरिक विषय भएकाले सबैको जित भएको बताउनु भयो ।अध्यक्ष पदमा निर्वाचित भट्टले कम्पनीको नेतृत्व गर्दै यातायात व्यवसायीका समस्या, कम्पनीको संस्थागत विकास तथा यातायात सेवालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यातायात क्षेत्रका व्यवसायीहरुका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्ने उहाँले बताउनुभएको छ ।
महाकाली यातायात बहुउद्देश्यीय कम्पनीमा भएको निर्वाचनलाई कम्पनीको आगामी नेतृत्व चयनका लागि महत्वपूर्ण प्रक्रियाका रूपमा लिइएको छ । निर्वाचनमा अध्यक्ष पदसहित सञ्चालक समितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो ।

नवनिर्वाचित सञ्चालक समितिले कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउने, यातायात व्यवसायीको हित संरक्षण गर्ने तथा कम्पनीलाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।
महाकाली यातायात बहुउद्देश्यीय कम्पनीले कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा यातायात व्यवसायसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै कम्पनीका शेयर सदस्य तथा यातायात व्यवसायीहरुले नवनिर्वाचित समितिबाट यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि पहल हुने अपेक्षा गरेका छन्।

विशेषगरी यातायात व्यवसायीको व्यावसायिक सुरक्षा, सेवा व्यवस्थापन, संस्थागत पारदर्शिता तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

नवनिर्वाचित अध्यक्ष नवीन भट्टको नेतृत्वमा गठन भएको नयाँ सञ्चालक समितिले आगामी कार्यकालमा कम्पनीको संस्थागत विकाससँगै यातायात व्यवसायीको हितमा केन्द्रित भएर काम गर्ने बताइएको छ । प्रमाणपत्र वितरणसँगै नवनिर्वाचित अध्यक्ष तथा सञ्चालकहरुले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित

Comments are closed.