भोटेकोशी बाढीमा सम्पर्कविहीन कञ्चनपुरका २६ जना नागरिकको खोजी गर्न तथा उचित राहात दिन सांसद महताको माग ।
डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका कञ्चनपुरका २६ जना नागरिकको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महताले भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरै परिवारलाई पीडामा पारेको उल्लेख गर्दै घटना लगत्तै खोज तथा उद्धारका लागि राज्यका स्रोत–साधन परिचालन गरेकोमा सरकारलाई धन्यवाद दिए।
उनका अनुसार कञ्चनपुरका कुल ३९ जना नागरिकमध्ये १३ जना परिवारको सम्पर्कमा आइसकेका छन् भने २६ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये कञ्चनपुर–३ का मात्रै १० जना नागरिक रहेको उनले सदनलाई जानकारी गराए।
सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिकाका २५ वर्षीय मनिष चौधरी, ५२ वर्षीय देवबहादुर चन्द, नेपाली सेनामा कार्यरत ३५ वर्षीय श्याम चन्द, ५५ वर्षीय पदमबहादुर मल्ल, ३२ वर्षीय प्रेमप्रसाद जोशी, २७ वर्षीय उमेश धामी, ५० वर्षीय नरेश जोशी र ५० वर्षीय लक्ष्मण गुरुङ रहेका छन्।
त्यस्तै, बेदकोट नगरपालिका–८ का ३६ वर्षीय प्रहरी हवल्दार नरेशप्रसाद भट्ट र ५० वर्षीय पदमराज जोशी पनि अझै सम्पर्कविहीन रहेको सांसद महताले बताए।
महताले आफू सम्पर्कविहीन नागरिकका परिवारलाई भेट्न कञ्चनपुरस्थित उनीहरूकै घरमा पुगेको उल्लेख गर्दै परिवारले भोगिरहेको पीडा अत्यन्त गम्भीर रहेको बताए।
“यी २६ जना केवल एउटा संख्या होइनन्। यी २६ परिवारका सपना हुन्। कसैका बुबा, कसैका छोरा, कसैका श्रीमान् र कसैका दाजुभाइ हुन्,” उनले भने।
सम्पर्कविहीन आफन्तको अवस्था अज्ञात रहँदा परिवारमा मानसिक पीडासँगै आर्थिक समस्या पनि थपिएको उनको भनाइ छ। कतिपय परिवारले घरको मुख्य कमाउने सदस्यको अवस्थाबारे जानकारी नपाउँदा दैनिक जीवनयापन र बालबालिकाको भविष्यबारे थप चिन्ता बढेको उनले बताए।
सांसद महताले सम्भावित सबै स्थानमा खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे। साथै, खोजी कार्यको वास्तविक अवस्था र प्रगतिको जानकारी सम्बन्धित परिवारलाई सरकारको संयन्त्रमार्फत नियमित रूपमा उपलब्ध गराउनुपर्ने उनले बताए।
उनले आफन्तको पर्खाइमा रहेका परिवारलाई तत्काल राहत, आर्थिक सहयोग र मनोसामाजिक सहयोग उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराए।
महताले सम्पर्कविहीन प्रत्येक परिवारका एक जना सदस्यलाई रोजगारीको सुनिश्चितता गर्नसमेत माग गरेका छन्।
“दुःखको समयमा सरकार नै नागरिकको अभिभावक हो। आज ती परिवारले सरकारको साथ र उपस्थिति खोजिरहेका छन्। उनीहरूलाई केवल आश्वासन होइन, उपस्थिति, सहयोग र परिणाम चाहिएको छ,” उनले भने।
सम्पर्कविहीन २६ जना नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राख्दै उनीहरूका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सांसद महताले सरकारसँग आग्रह गरेका छन्।
Comments are closed.