तीन दिन भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा कतै माइकिङ त कतै बस्ती स्थानान्तरण

महेन्द्रनगर । असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भेगमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यस्तोमा सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तह र सुरक्षा निकायसम्मले पनि पूर्वतयारी तीव्र बनाएको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म भारी वर्षा हुने सम्भावना छ । असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार ठुलो वर्षाको जोखिम देखिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली नेपालतर्फ प्रवेश गर्दा वर्षा बढ्न सक्ने विभिन्न मौसम मोडलले देखाएको बताइएको हो ।

भारी वर्षाको सम्भावनासँगै सुदूरपश्चिममा बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्तरमा पूर्वतयारी अघि बढाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सम्भावित विपद्लाई ध्यानमा राखेर जिल्लाका स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र विपद्को क्षेत्रमा काम गर्ने निकायलाई सचेत गराइएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा पनि सम्भावित जोखिमबारे छलफल गरिएको र मार्तडी–साफेबगर सडकखण्डमा रातिको आवागमन बन्द गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।‘विज्ञप्ति निकालेर सबैलाई सचेत गराउने काम भइरहेको छ, ‘बाढी र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउने तथा आवश्यक परे माइकिङ गर्ने काम पनि भइरहेको छ,’ निरौलाले भने ।

उनका अनुसार जिल्लामा १ सय ३० भन्दा बढी बस्ती बाढी तथा पहिरोको जोखिममा छन् ।दार्चुलाले भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार मौसमसम्बन्धी बुलेटिन सार्वजनिक भएपछि जिल्लालाई उच्च जोखिममा राखेर स्थानीय तह र अन्य सरोकारवाला निकायलाई सचेत गराइएको छ ।

उनका अनुसार व्याँस गाउँपालिका–४ मडगाउँका जोखिममा रहेका स्थानीयलाई पालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नदी तटीय क्षेत्रका बस्ती र बजारमा समेत जोखिम रहेको प्रशासनले जनाएको छ । गोकुलेश्वर र खलंगालगायत क्षेत्रमा नदीको बहाव बढ्दा समस्या आउन सक्ने भएकाले निगरानी बढाइएको छ ।

सम्भावित पहिरो तथा बाढीका कारण राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न मौज्दात राख्न पनि भनिएको पौडेलले बताए । ‘राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै दुई महिनासम्म पुग्ने खाद्य सामग्री मौज्दात गर्न भनेका छौँ,’ उनले भने ।

अस्पतालहरूलाई पनि विपद्का बेला घाइते तथा बिरामीको उपचार व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जिल्ला अस्पताल, गोकुलेश्वर अस्पताल तथा स्थानीय तहअन्तर्गत अस्पताललाई आवश्यक तयारी गर्न भनिएको छ ।

रेडक्रसलाई समेत राहत सामग्री तयारी अवस्थामा राख्न भनिएको पौडेलले बताए ।कैलालीमा भने कर्णाली, मोहनालगायत नदीको बहाव र मौसमसम्बन्धी सूचना नियमित लिने तथा नदी तटीय बस्तीलाई समयमै सचेत गराउने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार डुबानको जोखिममा रहेका क्षेत्रमा उद्धार टोली तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिनेछ ।‘नदीको अवस्था र मौसमसम्बन्धी सूचना लिएर नदी किनारका बस्तीलाई अलर्ट गर्ने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी छ,’ उनले भने ।

उनका अनुसार पहाडी क्षेत्रमा पहिरोको सम्भावनालाई ध्यानमा राख्दै स्काभेटर तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ । डुबान र पहिरोबाट प्रभावित नागरिकको उद्धारका लागि आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिनेछ ।

यस्तै बझाङ, बैतडी, अछाम, डडेल्धुरा, डोटी, कञ्चनपुरमा पनि आवश्यक तयारी सूचना जारी गर्ने काम गरिएको त्यहाँका सम्वन्धीत प्रशासन कार्यालय र स्थानीय तहले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले अहिले नै न्यूनचापीय प्रणालीले कुन क्षेत्रमा कति वर्षा गराउँछ भन्ने यकिन आकलन गर्न कठिन भए पनि आगामी दिनमा पूर्वदेखि पश्चिमसम्म वर्षा हुने संकेत देखिएको बताए ।

सम्बन्धित

Comments are closed.