प्राइम बैंकको १९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ६३ जनाले गरे रक्तदान

महेन्द्रनगर । प्राइम बैंक लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश, धनगढी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६३ जना रक्तदाताले रक्तदान गरेका छन्।समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्राइम बैंकका प्रदेश–७ प्रमुख इन्द्रप्रसाद गुरागाईंले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्य सेवा संयोजक धर्मराज जोशी, नेपाल रेडक्रस सोसाइटीका लेखापाल डम्बर भट्ट, सुदूरपश्चिम प्रदेश रक्तदान सद्भावना दूत दिपक उपाध्याय तथा राष्ट्रिय स्वतन्त्र पार्टी वडा नम्बर १ का सभापति जितेन्द्र मग्राटी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिनुभएको थियो। साथै, संकलित रगतले आवश्यकता परेका बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

प्राइम बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रमले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

सम्बन्धित

Comments are closed.