महेन्द्रनगर । वेदकोट नगरपालिका–७ बसन्तपुरस्थित पशुपति आधारभूत विद्यालयमा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक कार्यक्रमबीच विद्यालय भवनको शिलान्यास गरेका हुन्।संघीय सरकारको बजेटअन्तर्गत स्वर्गीय माननीय बल्देव बोहराको विशेष पहलमा निर्माण हुन लागेको उक्त भवनका लागि करिब १ करोड ७५ लाख रुपैयाँमा सम्झौता भएको जनाइएको छ।

भवन निर्माण सम्पन्न भएपछि बसन्तपुर तथा आसपासका क्षेत्रका विद्यार्थीलाई पठनपाठनका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विस्तारसँगै विद्यार्थीको शैक्षिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका नगर प्रमुख भोजराज बोहराले विद्यालयको भौतिक पूर्वाधार विकासमा नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्ने बताए। उनले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक संरचना पनि महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
कार्यक्रममा वेदकोट नगरपालिका–७ का वडा अध्यक्ष थानेश्वर प्रसाद भट्ट अतिथिका रूपमा सहभागी थिए। विद्यालयका प्रधानाध्यापक शुशिला जोशी बोहरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्धु राम डगौरा, निर्माण कम्पनीका सञ्चालक बृजबहादुर चन्द, पीटीए अध्यक्ष टीकाराम भट्टलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वेदकोट नगरपालिका कर्मचारी प्रकाश कलौनी लगायत स्थानीयवासीको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
Comments are closed.