महेन्द्रनगर । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रको १९औँ वार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले द्वन्द्वपीडित तथा एकल महिलाको सामाजिक, आर्थिक तथा समग्र उत्थानका क्षेत्रमा गर्दै आएको कामको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता सहित वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष सीता बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक प्रमुख अतिथि तथा वेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्ट र गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि, सामाजिक क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निलम लेखकले महिलाले दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ अघि बढ्ने हो भने कुनै पनि क्षेत्रमा उल्लेखनीय काम गर्न सक्ने बताउनुभयो।

उहाँले द्वन्द्वपीडित तथा एकल महिलाको उत्थानका क्षेत्रमा संस्थाका अध्यक्ष सीता बोहराले नेतृत्वदायी भूमिका निर्वाह गर्दै महिलाले चाहेमा सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन् भन्ने प्रमाण प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि लेखकले द्वन्द्वपीडित तथा एकल महिलाका सवालमा संस्थाले लामो समयदेखि गर्दै आएको कामको प्रशंसा गर्दै उनीहरूको सामाजिक तथा आर्थिक उत्थानका लागि संस्थाले उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो।

आगामी दिनमा पनि संस्थाले महिला तथा द्वन्द्वपीडितका सवाललाई प्राथमिकतामा राख्दै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकोस् भन्दै उहाँले संस्थाको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा विशिष्ट अतिथि तथा वेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्टले द्वन्द्वपीडित तथा एकल महिलाका लागि संस्थाले वेदकोट नगरपालिकामा समेत प्रवर्द्धनात्मक तथा उत्थानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
कञ्चनपुरसँगै कैलालीमा समेत लक्षित समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा उहाँले संस्थाप्रति आभार व्यक्त गर्नुभयो।अध्यक्ष भट्टले द्वन्द्वपीडित तथा एकल महिलाको जीवनस्तर सुधारका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै यस्ता संस्थाले समुदायस्तरमा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा मन्तव्य राख्ने अधिकांश वक्ताले द्वन्द्वपीडित तथा एकल महिलाको अधिकार, सामाजिक सुरक्षा, आत्मनिर्भरता तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा संस्थाले गर्दै आएको कामको प्रशंसा गरेका थिए। उनीहरूले संस्थाले आगामी दिनमा अझ व्यापक रूपमा लक्षित समुदायका सवाललाई उठाउँदै उत्थान तथा सशक्तीकरणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने पाँच जना सम्मानित हुनु भएको थियो ।वार्षिक उत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार सुजित सिनाल, पूर्व सेनानी गोरख पुजारा, वेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महिला सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक करिना ओईरे तथा एकल महिला मन्तुरा राना रहनुभएको छ।
उहाँहरूलाई संस्थाका तर्फबाट दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक डम्मरी विष्टले जानकारी दिनुभयो। विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ।कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सीता खड्काले संस्थाले सञ्चालन गरेका कार्यक्रम, हासिल भएका उपलब्धि तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराउनुभएको थियो।
उहाँले संस्थाले द्वन्द्वपीडित तथा एकल महिलाको आवश्यकता र अवस्थालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष पार्वती भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले संस्थाले आगामी दिनमा पनि लक्षित समुदायको हित र अधिकारका सवालमा प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले विगत १९ वर्षदेखि द्वन्द्वपीडित तथा एकल महिलाका सवाललाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा उत्थानमुखी गतिविधि सञ्चालन गर्दै आएको छ।
वार्षिक उत्सव तथा साधारण सभाले संस्थाको विगतको कार्यसम्पादनको समीक्षा गर्नुका साथै आगामी दिनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन डम्मरी विष्टले गर्नुभएको थियो।
Comments are closed.