उत्कृष्ट तथा सिर्जनशील जिल्ला घोषित हुँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर सम्मानित

कञ्चनपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा कञ्चनपुर आर्थिक वर्ष २०८२र०८३ मा उत्कृष्ट तथा सिर्जनशील जिल्ला घोषित हुँदै सम्मानित भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ को अवसरमा जिल्ला शाखा कञ्चनपुरलाई उत्कृष्ट तथा सिर्जनशील जिल्लाका रूपमा सम्मान गरिएको हो।

प्रतिष्ठानले लोक तथा दोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र विकासका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा कञ्चनपुर का अध्यक्ष सरस्वती जिसीले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशको मौलिक लोक देउडा गीतसंगीतको संरक्षण, प्रवर्द्धन तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, मौलिक लोकसंस्कृति र लोकसंगीतको संरक्षणसँगै कलाकारहरूको हकहित, पेसागत सम्मान र संस्थागत सुदृढीकरणका क्षेत्रमा समेत प्रतिष्ठानले काम गर्दै आएको उहाँले बताउनुभयो।

सुदूरपश्चिमको कला, संस्कृति र मौलिक लोकसंगीतलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न प्रतिष्ठानको केन्द्रीय तहमा यस क्षेत्रको प्रतिनिधित्व प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।

उक्त सम्मानले कञ्चनपुर जिल्लाका लोक तथा दोहोरी गायक, गायिका, सर्जक र कलाकारहरूलाई थप उत्साहित बनाउनुका साथै मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा अझ सक्रिय भएर लाग्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
लोकगीत तथा लोकसंगीतको विकास, कलाकारहरूको सम्मान र नेपाली मौलिक संस्कृतिको जगेर्नामा प्रतिष्ठानले आगामी दिनमा पनि आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै लैजाने विश्वास गरिएको छ।

सम्बन्धित

Comments are closed.