विकास निर्माणका कार्यहरुमा अनियमितता भएको गुनासो, प्राविधिक सहित अनुगमन गरीने लेखा समितिको भनाई
महेन्द्रनगर, ७ साउन
कञ्चनपुरको वेदकोट नगरपालिकामा भएका विभिन्न विकास निर्माणका कार्यहरुमा अनियमितता भएको प्रतिपक्षी दल नेपाली काग्रेस तथा स्थानीयहरुले बताएका छन् । वेदकोट नगरपालिका वडा नम्बर २ मा निर्माण भएको औद्योगिक करीडोर, वेदकोट नगरपालिकाको सुन्दरपुरमा निर्माण भएको सडक, वेदकोट नगरपालिका वडा नम्बर ९ र १० जोड्ने पुल निर्माण लगायतका कार्यमा अनियमितता भएको प्रतिपक्षी दल नेपाली काग्रेसले जनाएको नेपाली काग्रेस वेदकोट नगर कार्यसमितिका सभापति पुष्पराज भट्टले ती क्षेत्रहरुका बारेमा पटक पटक जनताबाट गुनासा आइसकेपछि आफुहरुले एउटा उपसमिति नै बनाएर अनुगमन गरेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । धेरै ठाउमा अनुगमनका क्रममा धेरै ठाउमा आर्थिक अनियमितता भएको तथा कतिपय ठाउहरुमा निर्माण गरीएका सडक तथा पुल गुणस्तरहीन रहेको पाइएको जानकारी दिनु भयो ।
यस्तै वेदकोट नगरपालिका वडा नम्बर ८ बैजनाथ मन्दिर र वृद्धाआश्रम जोड्ने पुलको गुणस्तरीयतामाथि प्रश्न उठेको उहाले बताउनु भयो । यसरी गुणस्तरहिन काम भएको पाइएपछि वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दसंग बुझ्दा उहाले प्रदेश सरकारको लगानीमा निर्माण भइ रहेका योजनाहरुको बारेमा नगरपालिकाले भन्दा प्रदेश सरकारले नै जानकारी दिने र अनुगमनको कार्य समेत प्रदेश सरकारकै भएको भन्ने जवाफ पाएपछि आफुहरुले प्रदेश सरकार अन्र्तगतको लेखा समितिलाई समेत जानकारी गराई अनुगमन गरीएको भएपनि अझै ती कार्यमा कार्बाही प्रक्रिया अघि नबढेकाले अब आफुहरु आन्दोलनमै जान बाध्य भएको नेपाली काग्रेस वेदकोट नगर कार्य समितिका सभापति भट्टले बताउनु भयो ।
समितिले सो विषयमा छलफलका लागि बैठक बोलाउदा कोरम नै नपुग्ने गरेका गुनासाहरु आएको उहाको भनाई छ । यस विषयमा सुदुरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिका सभापति नन्दा कुमारी बमसंग बुझ्दा उहाले वेदकोट नगरपालिकामा भएका अनियमितताहरुको बारेमा उजुरी आएपछि आफुहरुको टोलीले दुई तीन ठाउमा अनुगमन गरेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले आफुहरुले अनुगमन गरेको भएपनि अनियमितता भए नभएको तथा गुणस्तरहीन काम भएनभएको बारे जानकारी पाउन प्राविधिक नै आवश्यक पर्ने भएकाले आफुहरुले सचिवालयमा प्राविधिकको माग गर्दा नपाएको गुनासो गर्नु भयो । प्राविधिकको अभावका कारण आफुहरुले अनुगम गरेपनि थप कार्य गर्न नसकेको उहाले बताउनु भयो । सभापति बमका अनुसार चालु आर्थिक वर्षको बजेटमा भने प्रदेश सरकारले सार्वजनिक लेखा समितिका लागि समेत बजेट विनियोजन गरेकाले अब समितिले आफैले प्राविधिक नियुक्त गरी अनुगमन कार्यलाई तीव्रता दिने बताउनु भयो । यस विषयमा थप जानकारीका लागि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री पठानसिह बोहरा, मन्त्रालयका सचिव ईन्द्रदेव भट्ट तथा लेखा शाखाका लेखा अधिकृत कृष्ण बहादुर शाहीसंग कुराकानी गर्नका लागि सम्पर्क गर्दा उहाहरु कसैले पनि फोन उठाउनु भएन् ।