नेपालकै जमिनमा तारजाली लगाउदा भारतीय पक्षद्धारा अवरोध
महेन्द्रनगर, ९ साउन
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ ब्रह्मदेवमा वृक्षारोपणका लागि खाली रहेको नेपालकै जमिनमा तारजाली लगाउदा भारतीय पक्षले अवरोध गरेको छ । दशगजा क्षेत्र नजिक आफ्नोतिर पक्की सडक निर्माणदेखि लिएर अन्य काम गरी रहेको भारतीय पक्षले दशगजा नजिकको नेपाली भुमिमै नेपालीहरुले तारजाली लगाउन खोज्दा अवरोध गरेका हुन् ।
यद्यपि स्थानीयहरुको अग्रसरतामा जनबाहिनी नेपालको सीमा अनुगमन तथा खबरदारी अभियान अन्र्तगत शुक्रवार तारजाली लगाइएको छ । स्थानिय वासिन्दासंग समन्वय गरी व्यापक रुपमा खवरदारी गरिएको जनबाहिनी नेपालका संयोजक सिरोमणी ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । सो क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि तीनै तहका सरकारका जनप्रतिनिधीहरुले पहल नगरेको त्यो क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् । सो क्षेत्रमा सडक निर्माण गर्नका लागि भीमदत्त नगरपालिकाले बजेट नै विनियोजन गरेको भएपनि अझै सडक निर्माण कार्य भएको छैन् । स्थानीयका अनुसार भारतीय पक्षले दशगजा नजिक आफ्नो क्षेत्रमा पक्की सडक निर्माण गरेको भएपनि नेपालतिर भने कुनै पनि काम गर्न नदिएको अवस्था छ ।
यस विषयमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ का वडाअध्यक्ष राम नाथसंग बुझ्दा उहाले भारतले टनकपुर पुलदेखि ब्रह्मदेव बजारसम्म पक्की सडक निर्माण गरी दशगजा क्षेत्रमा समेत पक्की सडक निर्माण गरेको बताउनु भयो । वडाअध्यक्ष नाथका अनुसार बाकी १ सय ४३ मिटर सडक निर्माण कार्य भने सो क्षेत्रका नेपाली स्थानीयहरुले विरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । स्थानीयहरुले पटकपटक नेपाली भुमिमै आएर दुख दिने गरेकाले दुवै देशका पदाधिकारीहरुले कुटनीतिक रुपमा यो समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
Comments are closed.