रासायनिक मल नपाउँदा किसानलाई समस्या

धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ । त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन नसकेका हुन् ।

मौज्दात मल
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया, डीएपी र पोटास गरी जम्मा १६ हजार ३ सय ६० मेट्रिक टन मल मौज्दातमा रहेको छ । अहिले १ हजार ६० मेट्रिक टन युरिया, १२ हजार ८ सय मेट्रिक टन डीएपी र २ हजार ५ सय मेट्रिक टन पोटास मौज्दात छ । गएको असार १० गतेसम्म युरिया र डीएपी गरी १८ हजार मेट्रिक टन मल मौज्दात थियो ।

त्यसबेला कृषि मन्त्रालयले एक महिनाभित्रै मलको समस्या समाधान हुने भनेको थियो । तर एक महिना बितिसक्दा मौज्दात घटेको छ । तर भारतबाट आउने भनेको झण्डै ५० हजार मेट्रिक टन युरिया र डीएपी भने आइसकेको छैन । कृषि मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी ल्याउने तयारी भैरहेको छ । तर ल्याउने भनेको मल भारतमा अलपत्र परेको ४ महिना भैसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.