कैलालीमा सवारी पासको दुरुपयोग गर्दै बस संचालन गरिरहेका २ जना लाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय मालाखेती र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको संयुक्त टोलीले गोदावरी नगरपालिका वडा नम्वर ४ बाट सवारी पासको दुरुपयोग गर्दै चलिरहेका दुई बस सहित दुई जना चालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट अछाम तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस र अछामको चौरपाटी गाँउपालिका वडा नम्वर ५ बस्ने चालक गोकुल खड्कालाई नियनन्त्रणमा लिइएको हो ।
सवारी पास चेकजाँच गर्दा १३ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा २२ जना यात्रुहरु बोकेको फेला परेको थियो । यस्तै महेन्द्रनगरबाट बैतडी तर्फ जादै गरेको ना ७ ख २७२३ नम्बरको बस र सो बसका चालक कन्चनपुरको पुनरवास नगरपालिका वडा नं १० बस्ने भरतसिंह धनाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सवारी पासमा १८ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा ३२ जना यात्रुहरु रहेकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुई वटै बस र बस चालकहरुलाई संक्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको छ।