सुदूरपश्चिम प्रदेशमा शनिवार एक सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२

सुदूरपश्चिम प्रदेशमा शनिवार एक सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

महेन्द्रनगर, १७ साउन

 सुदूरपश्चिम प्रदेशमा शनिवार एक सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

 तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो । धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उहाले बताउनु भयो । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भयो । बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन÷तीन जना र मष्टा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

 शनिवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ७०, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ७५ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार १० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको ज्यान गएको छ । ५३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी संक्रमित आफ्नै घर र स्थानीय तहको आईसोलेसनमा रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.