मुल्यवृद्धि भएपनि नियमनकारी निकाय मौन

लकडाउन अन्त्य भइ सकेको भएपनि मुल्यवृद्धिको भने अन्त्य नभएको उपभोक्ताहरुको गुनासो

मुल्यवृद्धि भएपनि नियमनकारी निकाय मौन

ओम प्रकाश पाण्डेय

महेन्द्रनगर, २० साउन

 विभिन्न वस्तु तथा सेवाको मुल्यमा वृद्धि भएको भएपनि नियमनकारी निकाय सुस्त बनेको उपभोक्ताहरुले गुनासो गरेका छन् । सरकारले कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नेभन्दै २०७६ सालको चैत ११ गतेदेखि गरेको लकडाउन अन्त्य भइ सकेको भएपनि लकडाउनको शुरुवातसंगै विभिन्न वस्तु तथा सेवाको मुल्यमा भएको वृद्धिको भने अन्त्य नभएको उपभोक्ताहरुको गुनासो छ ।

 साग तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तु तथा विभिन्न सेवाहरुको मुल्यमा भएको वृद्धि खपिनसक्नु भएपनि नियमनकारी निकाय सुस्त हुदा समस्या भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जना स्थानीय रमेश बहादुर कार्कीले गुनासो गर्नु भयो । आलुको मुल्य लकडाउन अघि ४० रुपैया प्रतिकिलोग्राम किनेको बताउनु हुदै कार्कीले अहिले त्यही आलुको मुल्य ७० रुपैया प्रतिकिलोग्राम पुगेको बताउनु भयो । यसरी दैनिक उपभोग्य सामानदेखि अन्य वस्तु तथा सेवाको मुल्य आकाशिएको भएपनि बजार अनुगमन लगायतको जिम्मेवारी पाएको स्थानीय सरकार मुखदर्शक भएको उपभोक्ताहरुको गुनासो छ । लकडाउनका कारण आम्दानीका स्रोतहरु बन्द भएका बेला झनै सेवा तथा वस्तुको मुल्यवृद्धि भइदिदा दैनिकी चलाउन नै समस्या भएको कञ्चनपुरको वेदकोट नगरपालिकाका एक जना स्थानीय रमेशप्रसाद जोशीले बताउनु भयो ।

 पालिकाहरुले आआफ्नो पालिकाभित्र हुने व्यापार व्यवसायको नियमन गर्दै मुल्यवृद्धि भएनभएको हेरी नियमन गर्नुपर्ने र बजार अनुगमन गर्ने कार्य गर्नुपर्ने व्यवस्था भएपनि पालिका समेत टुलुटुलु हेरेर बसिरहेको स्थानीय जोशीले बताउनु भयो । केही व्यापारीहरुले लकडाउनका समयमा मिति नाघिसकेका वस्तुहरुको बिक्रि भइ रहदा समेत स्थानीय सरकारले बजार अनुगमन नगरेको उपभोक्ताहरुले बताएका छन् । उपभोक्ताहरुले मुल्यवृद्धि भएको गुनासो गरी रहेका बेला कतिपय स्थानीय सरकारका जनप्रनिधीहरुले भने आफुहरुले अहिले बजार अनुगमनका कार्यहरु नगरेको स्वीकार गरेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिहंले अहिले बजार अनुगमनका कार्यहरु नभएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यस्तै कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बजार अनुगमन गर्नका लागि उपप्रमुखको संयोजकत्वमा समिति नै गठन गरीएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 निरन्तर रुपमा आफुहरुले बजार अनुगमन कार्य गरी रहेको दाबी गर्नुहुदै नगर प्रमुख बिष्टलेउपभोक्ताहरुलाई मुल्यवृद्धि भएको पाइएमा नगरपालिकालाई खबर गर्न आग्रह समेत गर्नु भयो । नगर प्रमुख बिष्टले बजार अनुगमन कार्य नियमित भइ रहेको भनिरहदा कतिपय उपभोक्ताहरुले भने खुलेआम बजारमा भएको मुल्यवृद्धिका विषयमा नगरपालिका जानकार नरहेको भन्न नमिल्ने भएकाले उपभोक्ताले खबर गरेमा बजार अनुगमन गरौला भन्नु त्यत्ति उपयुक्त नभएको बताएका छन् । चाडपर्वका बेला मात्रै गरिने बजार अनुगमनले मुल्यवृद्धि तथा कालोबजारी रोक्न नसक्ने भएकाले जनताको समस्यालाई मध्यनजर गर्दै पालिकाहरुले आआफ्नो क्षेत्रभित्र निरन्तर रुपमा अनुगमन कार्य गर्नुपर्ने उपभोक्ताहरुको भनाई छ । कतिपयले भने उपभोक्ताहरुले कालोबजारी भइ रहेको पाइएमा सिधै सम्बन्धित निकायमा खबर गर्नुपर्ने र त्यसका लागि सोझै सम्बन्धित नियमनकारी निकायसंग सम्पर्क गर्न सकिने व्यवस्था सरकारले मिलाइ दिनुपर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.