सडक मर्मत गरीदिन माग गर्दै तीन दिने अल्टिमेटम, मर्मतको कार्य भइ रहेको वडाअध्यक्षको भनाई
महेन्द्रनगर, २३ साउन
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा सडक मर्मत गरीदिन माग गर्दै तीन दिने अल्टिमेटम सहितको ज्ञापनपत्र वडाअध्यक्षलाई बुझाइएको छ । वेदकोट नगरपालिका वडा नम्बर २ का युवाहरुको एक समुहले बाटो मर्मत गरीदिन आग्रह गर्दै वडाअध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् । वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथाला क्षेत्रमा सडक मर्मत नहुदा वर्खायाममा हिडडुल गर्न समेत समस्या भएकाले मर्मत गरीदिन युवाहरुले वडाअध्यक्ष नरेश बहादुर सिंहलाई शुक्रवार ज्ञापन पत्र बुझाएका हुन् ।
सडक ठाउठाउमा बिग्रिएकाले सो सडकको मर्मतको लागि वडाअध्यक्षलाई पटकपटक मौखिक जानकारी गराउदा समेत आश्वासन बाहेक सडक मर्मतका लागि कुनै पनि पहल नगरीकाले आफुहरुले तीन दिन भित्रमा सडक मर्मतका लागि अल्टिमेटम दिएको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथालाका एक जना युवा पारसमणि जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । तीन दिन भित्र सडक बिग्रिएको स्थानमा ग्राभेल थपि बाटो सुधार गर्न अनुरोध गरिएको बताउदै स्थानीय युवा जोशीले तीन दिन भित्र समेत वडा कार्यालयले कुनै प्रतिक्रिया नदिई सडक मर्मत नगरेमा चरणबद्ध तरिकाले आन्दोलनमा जाने समेत बताउनु भयो । यस विषयमा वेदकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिंहसंग बुझ्दा उहाले सडक मर्मतको काम शुरु भइसकेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । सडक मर्मतका लागि काम शुरु भइसकेको अवस्थामा युवाहरुको समुहले ज्ञापन पत्र बुझाएको वडाअध्यक्ष सिहंको भनाई छ ।