२०५८ सालसम्म कञ्चनपुरमा रहेको प्याराताल भारतीय कब्जामा

कञ्चनपुर क्षेत्रका स्थानीय, त्यस क्षेत्रका जनप्रतिनिधिहरुले राज्य व्यवस्था समितिमा ‘गलत’ स्ट्रीप नक्सा तयार गरिँदा कञ्चनपुर जिल्लामा मात्रै कति क्षति भएको छ भन्ने विवरण पनि प्रस्तुत गरेका छन् ।

विवरण अनुसार पुनर्वास नगरपालिकाको वडा नम्बर ९ मा रहेको प्याराताल भारतीय कब्जामा छ । जुन ताल २०५८ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरले ठेक्का दिँदै आएको थियो । ‘२०५८ सालसम्म कुनै विवाद थिएन । प्यारा तालभन्दा दुई सय मिटर दक्षिणमा ढालिएको अवस्थामा १९५ नम्बर स्तम्भ रहेको छ ।

तर, स्ट्रिप नक्सामा प्यारा ताललाई नै सिमानामा पर्ने गरी बनाइएको छ,’ सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लवराज भट्टले भने । ‘स्ट्रीप नक्सालाई देखाएर अहिले भारतले प्याराताल दाबी गरेर नेपालीलाई प्रवेश दिँदैन’ भट्टले भने । संयोजक भट्टका अनुसार गलत स्ट्रिप नक्साका कारण विश्व बैंकको सहयोगमा निर्माण भएको महाकाली सिंचाइ आयोजना अन्तर्गतको दोस्रो चरणको नहर दुवै देशको सीमा क्षेत्र ९नो–म्यान्स ल्याण्ड० बीचमा पर्न गएको छ ।

भीमदत्त नगरपालिका–१० गड्डाचौकीदेखि जिमुवा जाने सडकखण्ड कालोपत्रे गर्न नगरपालिकाले टेण्डर आह्वान गरी काम शुरु भएकोमा भारतीय पक्षले उक्त जमिन भारतीय भूमिमा परेको भन्दै काम रोकिदिएको छ । वर्षौंदेखि नेपालीहरु बस्दै आएको भीमदत्त नगरपालिकाकै पुरानो बस्ती खाली गराउन भारतीय पक्षले दबाव दिँदै आएको छ । यसैगरी, बेल्डाँडी नगरपालिकाका नेपाली लालपुर्जा भएका सयौं परिवारको जग्गा भारततिर तिर पर्न गएको, २०३६ सालमा कित्ता नापी गरी भूतपूर्व सैनिकहरुको बस्ती बसालिएको क्षेत्रका सय विगाहाभन्दा बढी जग्गा भारतर्फ पर्ने गरी स्ट्रीप नक्सा तयार भएको प्रस्तुत विवरणमा उल्लेख छ ।

चौधर नदीसम्म नै नेपाली पक्षले भोगचलन गर्दै आएकोमा ३८ नम्बर पिल्लरलाई मूल पिल्लर मान्दा स्तम्भ नजिकबाट गइरहेको हुलाकी सडकसमेत भारतमा पर्न गएको भनेर भारतीय सुरक्षाकर्मीले हुलाकी सडक निर्माण कार्यसमेत बन्द गराएको भन्दै संयोजक भट्टले यसतर्फ संघीय सरकार गम्भीर बन्नुपर्ने बताए ।

बेलौरी नगरपालिकामा रहेको २०० नम्बर सीमा स्तम्भ लामो समयदेखि वेपत्ता पारेर नेपाली भूभाग अतिक्रमण गर्ने भारतीय पक्षको मनसाय रहेको र त्यसको प्रतिरोध गर्दा गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर क्षेत्रका स्थानीय, त्यस क्षेत्रका जनप्रतिनिधिहरुले बताउँछन् ।

बैठकपछि राज्य व्यवस्था समितिले स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति शशी श्रेष्ठले स्ट्रिप नक्सा र सीमासम्बन्धी समग्र विषयमा के भएको हो जानकारी गराउन निर्देशन दिइन् ।

नेपाली टोलीले कञ्चनपुरलगायत देशका विभिन्न क्षेत्रका सीमावर्ती जिल्लामा तयार पारेको स्ट्रिप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको हो ।

सभापति श्रेष्ठ गोप्य छलफलका लागि पनि आफूहरु तयार रहेको भन्दै स्ट्रीप नक्सा तयार गर्दा भएका त्रुटीहरु के–कस्ता छन् वा छैनन् भन्नेबारे लिखित रुपमै समितिलाई जानकारी गराउन भूमि व्यवस्था मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेकी छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.