सामान्य पानीको बहावले नै भत्कियो तटबन्ध
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, २९ साउन
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कान्द्रा नदीको किनारमा निर्माण गरिएको तटबन्ध भत्किएको छ । कान्द्रा नदिमा आएको सामान्य पानीको बहावले नदी किनारमा लगाइएको तटबन्ध भत्काएको हो ।
करीब तीनचार वर्ष पहिले निर्माण गरिएको तटबन्ध कान्द्रा नदीमा आएको सामान्य पानीको बहावले भत्किएको भएपनि मर्मतका लागि पहल नगरीएको स्थानीयहरुले बताएका छन् । विभिन्न सामाजिक कार्यहरुमा संलग्न संस्था जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझाले आफुहरुले सो क्षेत्रको अनुगमन गरेर सडक विभाग, स्थानीय जनप्रतिनिधी, सुरक्षा निकाय तथा स्थानीयहरुसंग छलफल गर्नुका साथै जतिसक्दो चाडो तटबन्ध मर्मत गर्न खबरदारी गरिएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार सो तटबन्धको मर्मत नगरीदा पुर्वपश्चिम राजमार्ग नै कटानको जोखिममा परेको छ ।
यसरी तटबन्ध निर्माण गर्दा कमजोर प्राविधिक कार्य तथा गुणस्तरहिन सामाग्रीको प्रयोग गरिएकै कारण सामान्य पानीको बहावले समेत तटबन्ध भत्काएको जनबाहिनी नेपालका संयोजक ओझाले बताउनु भयो । सो तटबन्ध भत्किनु त केबल लापरबाहीको एउटा उदाहरण मात्रै भएको बताउनु हुदै ओझाले यस्ता कार्यहरु सरकारी तबरबाट धेरै भएको बताउनु भयो । यस विषयमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष भीम बहादुर बमसंग बुझ्दा उहाले करीब तीनचार वर्षअघि सडक विभागले निर्माण गरेको तटबन्ध भत्किएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
सडक विभागकै प्राविधिकहरुसहितको टोलीले तटबन्ध निर्माण गरेको बताउदै अध्यक्ष बमले आफुहरुले तबन्ध भत्किएपश्चात मर्मतका लागि पटकपटक आग्रह गरेको बताउनु भयो । भत्किएको तटबन्धको अनुगमनका लागि सडक विभागबाट दुईतीन पटक टोली आएको भएपनि अझै तटबन्धको मर्मत कार्य नगरीदा पुर्वपश्चिम राजमार्ग नै कटानको जोखिममा परेको अध्यक्ष बमले बताउनु भयो । यसरी हुने गुणस्तरहिन कार्यले जनताहरुले दुख मात्रै पाउने भएकाले सम्बन्धीत नियमनकारी निकायले यस्ता कार्यहरुको अनुगमन तथा गलत कार्य गर्ने जोसुकै भएपनि कार्बाही गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।