दिनप्रतिदिन भोक, रोग र दुर्घटनाले छाडाचौपाया मर्दै
व्यवस्थापनका लागि पहल भइ रहेको नगर प्रमुख चन्दको दाबी
दिनप्रतिदिन भोक, रोग र दुर्घटनाले छाडाचौपाया मर्दै
व्यवस्थापनका लागि पहल भइ रहेको नगर प्रमुख चन्दको दाबी
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, ३१ साउन
कञ्चनपुरका विभिन्न पालिकाहरुमा रहेका छाडाचौपायाको उचित व्यवस्थापन नहुदा चौपायाहरु रोगले, भोकले र दुर्घटनामा परेर दिनहु मर्न थालेका छन् । खासगरी कञ्चनपुरको वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा छाडाचौपायाको उचित व्यवस्थापन नगरीदा समस्या हुन थालेको स्थानीयहरुले बताएका छन् ।
कञ्चनपुरका पालिकाहरुले छाडाचौपायाको व्यवस्थापनमा लाखौ रकम खर्चिएका भएपनि छाडाचौपायाको व्यवस्थापन नहुनु दुखद भएको स्थानीयहरुको भनाई छ । नगरपालिकाले खर्च विवरण देखाउदा छाडाचौपायाको व्यवस्थापनमा लाखौ खर्च भएको देखाउने तर छाडाचौपाया दिनप्रतिदिन भोकले, रोगले तथा सडक दुर्घटनामा परेर मर्दा समेत नगरपालिकाले ध्यान दिन नसकेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का एक जना वडावासी पारसमणि जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । वर्खायाममा भोकभोकै सडकमा बसिरहेका तथा विभिन्न रोगहरुबाट ग्रसित छाडाचौपायाको व्यवस्थापनमा ध्यान नदिने तर छाडाचौपायाको व्यवस्थापनका लागि लाखौ रकम खर्च गरेको बताउने जनप्रतिनिधीहरुले चुनावका बेला छाडाचौपायाको व्यवस्थापन गर्न गरेको चुनावी प्रतिवद्धता बिर्सिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाका वासिन्दाहरुले बताएका छन् ।
छाडाचौपायाको व्यवस्थापनका विषयमा कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दसंग बुझ्दा उहाले वेदकोट नगरपालिकामा छाडाचौपायाको लागि वडा नम्बर ६ को चुनेपानी क्षेत्रमा गौशाला निर्माण गरीएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । गौशालामा नगरपालिकाका विभिन्न वडाबाट छाडाचौपाया लगेर व्यवस्थापन गरी रहेको बताउदै नगर प्रमुख चन्दले नगरपालिकाले सडक क्षेत्रबाट दुईतीन दुईतीन दिनको फरकमा सडक क्षेत्रबाट छाडाचौपाया गौशालामा लैजाने गरेको भएपनि पुनः छाडाचौपाया सडकमा विभिन्न क्षेत्रबाट आउने गरेको बताउनु भयो । वेदकोट नगरपालिकाका प्रमुख चन्दले जबसम्म नगरवासीहरुले घरमा पालेका जनावरहरुलाई छाडा रुपमा छोड्न रोक्दैनन तबसम्म छाडाचौपायाको समस्या समाधान नहुने बताउनु भयो । विगतमा नगरपालिकाले छाडाचौपाया पाल्न र सो बाफत नगरपालिकाले रु. ५ हजार प्रति चौपाया बाफत वार्षिक रुपमा दिने भनेको भएपनि नगरवासीहरुले नमानेको बताउनु भयो । उल्टै कतिपय नगरवासीहरुले आफुहरु नगरपालिकालाई रकम दिन तयार भएको तर आफुहरुका चौपाया समेत नगरपालिकाले व्यवस्थापन गरिदिनुपर्ने बताएका नगर प्रमुख चन्दले बताउनु भयो ।
साथै छाडारुपमा पशुचौपाया छोड्नेका बारेमा नगरवासीहरुबाट जानकारी नआउने गरेको बताउदै जबसम्म सुचना आउदैन तबसम्म छाडा रुपमा चौपाया छोड्नेलाई कार्बाही गर्न नसकिने बताउनु भयो । नगरवासी, नगरपालिका तथा अन्य सबै सरोकारवालाहरुको सहयोग बिना छाडाचौपायाको व्यवस्थापन गर्न नसकिने वेदकोट नगरपालिकाका नगर प्रमुख चन्दको भनाई छ ।