बलात्कार घटनाबारे सांसदहरुद्धारा सभामुख सापकोटाको ध्यानाकर्षण
महेन्द्रनगर, १३ असोज
बझाङमा भएको बलात्कार घटनाबारे सांसदहरुले सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गर्दै हत्यामा संलग्नलाई कारबाही गर्न पहल गरिदिन भन्दै ध्यानाकर्षण गराएका हुन् ।बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही,घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाले यो घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनु भयो ।सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उहाहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नु भयो । उहाले आफ्नोतर्फबाट समेत विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल दलितमुक्ति सङ्गठनले बझाङका सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । मंगलवार विज्ञप्ति जारी गर्दै घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गरिएको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाका १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौ विज्ञप्तिमा भनिएको छ ।
Comments are closed.