नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टीमद्धरा मझगाउँ विमानस्थलको स्थलगत निरीक्षण

नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टीमले मझगाउँस्थित बन्द विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । सरकारले विमानस्थल सञ्चालन गर्ने भएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी जानकारी लिएको छ ।

प्राधिकरणको धनगढी विमानस्थल आयोजना सुपरीटेन्डेन्ट इन्जिनियर राजन श्रेष्ठ सहित पूर्व वरिष्ठ अधिकारी सहितको टोलीले विमानस्थल निरीक्षणसंगै सञ्चालनका लागि सरोकारवालासंग समेत छलफल गरेका छन् ।

प्राधिकरणको धनगढी विमानस्थल आयोजना प्रमुख श्रेष्ठले विमानस्थलको धावन मार्गको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण गरिएको बताए । ‘अहिले १५२५ मिटरमा जहाज लेन्ड गर्न सकिने विकल्प अघि आएको छ, त्यसको अवस्था के हो, त्यो भने अनुसार जमिन छ की छैन भनेर जानकारी लिइएको छ’ उनले भने ।

गत वर्ष प्राधिकरणले विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएको थियो । त्यहीं अध्ययनले तत्काललाई १५२५ मिटर लम्बाईको धावन मार्गमा समेत जहाज चलाउन सकिने लगायतका विकल्प दिएको थियो ।

उत्तर दक्षिणको धावनमार्ग अहिले १६६५ मिटर लम्बाईको छ । यो लम्बाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रसम्म पुगेको छ ।
प्राधिकरणको टीमलाई प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले विमानस्थल सञ्चालनमा सक्दो सहयोग हुनेमा आश्वास्त पारेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि तिनै तहको सरकारले सहयोग गर्ने पुनः प्रतिवद्धता जनाएका छन् ।

यस वर्ष धावन मार्ग लगायतका संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्राधिकरणले आगामी फागुनदेखि रनवे कालोपत्रे लगायतका कार्य सुरु गर्ने भएको छ ।

सम्बन्धित

Comments are closed.