कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर तीन लाख भन्दा बढी आम्दानी गरेका हुन् ।
उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् । “धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उनले भने, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।”
धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ । “धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छ ।”
धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ ।
धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् । विगतका वर्षमा ५र६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ । धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उनको योजना छ ।
खेतमा माछापालनका लागि धान रोप्नुअघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ ।
धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनकोे भनाइ छ । माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।” माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन् ।
माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन् । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनकोे भनाइ छ ।
Comments are closed.