साथीको हत्या गरेर भारत भाग्दै गरेको अवस्थामा बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–४ का ३० वर्षीय रमेश पाल रहेको प्रहरीले जनाएको छ ।
उनलाई दशरथचन्द नगरपालिका ६ सेरास्थित महाकाली नदी छेउबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । पाललाई लेकम गाउँपालिका–४ टकनाका तेज बहादुर पालको शनिबार राति हत्या गरेको आरोप लागेको छ ।
तेज घर नजिकै शनिबार राति मृत भेटिएपछि सँगै रहेका रमेशको खोजी सुरु गरिएको थियो । प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेजको हत्या गरेको स्वीकारेका बैतडी प्रहरीले जनाएको छ।
भाग्दै गरेको अवस्थामा बिहान ६ बजे उनलाई प्रहरीले समात्न सफल भएको थियो। बैतडी प्रहरीको हिरासतमा रहेका उनलाई थप अनुसन्धानका लागि दार्चुला प्रहरीको जिल्ला लगाउने तयारी भएको छ।