कृष्णपुरको भेटघाटफाँटामा वस्ती बसेको १५ बर्षवछि बिजुली पुग्यो

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा वस्ती बसेको डेढ दशकपछि विजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका वासिन्दाले अँध्यारोमै बस्नुपर्ने वाध्यताबाट मुक्ति पाएका छन् । वस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो ।

विद्युत् सेवा नहुँदा स्थानीय वासिन्दाले रातिका बेला टुकीको सहारामा बस्दै आएका आएका थिए । “नजिकैको वस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भने, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको वस्तीमा विद्युत् सेवा थिएन ।

नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

निकै वर्षपछिको पहलपछि गाउँमा विजुली बाल्न सकिएको उनले बताए । “नजिकै वत्ती बलेको देखिन्थ्यो हाम्रो वस्तीमा विद्युत् नहुँदा वत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भने, “वस्तीमा विजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । वस्तीका सबै जना खुशी छन् ।”

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उनको भनाइ छ । केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भएपनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भने, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो ।

विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।” वस्तीका वासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.