सुुदुरपश्चिम प्रदेशमा एक महिनामै सडक दुर्घटनामा परी २२ जनाले ज्यान गुमाए

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाले ज्यान गुमाए

महेन्द्रनगर २०७७ मंसिर २२ सोमबार

  सुुदुरपश्चिम प्रदेशमा एक महिनामै सडक दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन् । गएको कात्र्तिक २७ गते राति बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । तिहारको रौनक चलिरहेका बेला दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परेको थियो । त्यसको ११ दिनपछि बैतडीमै अर्काे दुर्घटना भयो, जहाँ ५ जनाले ज्यान गुमाए ।

   मङ्सिर ९ गते बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर आउँदै गरेकाहरुको ज्यान गएको थियो । यी दुई घटना सेलाउन नपाउँदै मंसिर २० गते राति डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको ज्यान गएको थियो । यस्तै यही मंसिर २१ गते राति दार्चुलामा ट्रक दुर्घटना हुँदा चालक सहित ३ जनाको ज्यान गएको छ । एक महिनाभित्रै सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा घटेका ४ ठुला दुर्घटनामा २२ जनाले ज्यान गुमाइसकेका छन् । दसैं–तिहारबीचमै सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाको ज्यान गएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सर्प्राइज चेकिङ थाले पनि दुर्घटनामा कमी आउन सकेको छैन ।

   प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाको ज्यान गएको छ ।कात्तिक महिनामा मात्रै २७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा १४३ जना, आर्थिक वर्ष २०७५÷७६ मा २२३ जना र आर्थिक वर्ष २०७४÷७५ मा १६६ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले रातिमा समयमा दुर्घटना बढेकाले सवारी साधन सञ्चालनमै रोक लगाउने कि भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो । सवारी दुर्घटनामा चालकको बढी लापरबाही देखिएको प्रहरी उपरीक्षक गौतमले बताउनु भयो । त्यस बाहेक सडकको दुरावस्था, सवारीसाधन चापका कारण पनि दुर्घटना बढिरहेको प्रहरी उपरीक्षक गौतमको भनाई छ । तीब्र गति, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाडिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक बनिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले दुर्घटना नियन्त्रणको प्रयास भइरहेको बताउनु भयो । उहाले ट्राफिक प्रहरीको आँखा छलेर चालकबाट बढी लापरबाही हुँदा दुर्घटना हुने गरेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.