अपांगता भएका व्यक्तिहरुलाई बुधवार राहत सामाग्री हस्तान्तरण
महेन्द्रनगर, १ पौष
कञ्चनपुरका अपांगता भएका व्यक्तिहरुलाई बुधवार राहत सामाग्री हस्तान्तरण गरिएको छ । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजना तथा विश्व हिन्दु महासंघ, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) नेपाल र प्रजातान्त्रिक महासंघ सुदुरपश्चिम प्रदेशको सहयोगमा १ सय जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
अपांगता भएकाहरुलाई टोपी, कम्बल, पौष्टिक आहार, साबुन, ह्ीवल चियर, तेल लगायतका राहत सामाग्रीहरु हस्तान्तरण गरिएको हो । राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष उपेन्द्र बहादुर खडायतको सभापतित्वमा सम्पन्न उक्त राहत सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष, रुडुक नेपालका महासचिव तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य पुर्व सिचाइ मन्त्री एनपी साउदकी धर्मपत्नी जोत्सना साउद रहनु भएको थियो । कार्यक्रममा ४ जना शारीरिक अपांगता भएकाहरुलाई ह्वीलचेयर समेत वितरण गरिएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ५ का हेमराज भट्ट, भीमदत्त नगरपालिकाकै वडा नम्बर १८ का लाल बहादुर राई, वडा नम्बर १० का ईश्वरी जोशी र कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ९ का ललिता ऐरलाई ह्वील चेयर वितरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष जोत्सना साउदले अशक्त भएकाहरुको लागि सरकारकाले प्याकेज नै ल्याएर राहत वितरण गर्नुपर्ने बताउदै यसमा सहयोगी भावना भएका व्यक्तिहरुले समेत सहयोग गर्नुपर्ने बताउनु भयो ।
साथै उहाले विभिन्न क्षेत्रहरुमा अशक्त अपांगता भएका व्यक्तिहरु आधारभुत आवश्यकता समेत परिपुर्ति गर्न नसकिरहेको अवस्था रहेकाले सरकार तथा सरोकारवालाहरु सबैको यसमा ध्यान जान आवश्यक रहेको बताउनु भयो । राहत हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रहरुमा कार्यरत महिला प्रतिनिधीहरु, समाजसेवी महिलाहरु, नेपाली काग्रेसका नेता दिपककुमार जोशी, नेपाली काग्रेसको कञ्चनपुरको क्षेत्र नम्बर २ का सभापति दलबहादुर बोहरा, समाजसेवी तथा संवाद समुहका प्रशिक्षक तुलसी जोशी, रुडुकका जिल्ला उपाध्यक्ष मीन बहादुर सिह, महिला संघकी केन्द्रिय सदस्य रमिता देउवा, महिला संघका जिल्ला सभापति मधु भारती लगायतको उपस्थिति रहेको थियो ।
यस्तै बुधवार नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १० मा सुत्केरी, गर्भवती तथा अशक्त महिलाहरुलाई पौष्टिक आहार तथा खाद्यान्न वितरण गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजका कञ्चनपुर जिल्ला अध्यक्ष ज्ञानु ऐरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी पौष्टिक आहार तथा खाद्यान्न वितरण गरिएको हो । सो कार्यक्रममा समेत विश्व हिन्दु महासंघ र रुडुक नेपालले सहयोग गरेका हुन् ।