डोटी, ५ पौष
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ सिरखोलीसैनवासीलाई सिँचाइ गर्न सहज हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ३० लाख रुपैयाको लगानीमा उक्त दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ मा सेती नदीबाट पानी तानी लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था गर्न लागिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल राजपुरमार्फत उक्त योजना निर्माण गरिनेछ । नदीबाट करिब ५५० मिटर उचाइमा लिफ्टबाट पानी तानेर करिब एक हजार ५०० रोपनी जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ ।
उक्त योजनाको डोटीको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीका अध्यक्ष चक्र मल्लले संयुक्त रुपमा शिलान्यास गरेका छन् । चालू आर्थिक वर्षमा ६० लाख रुपैया रकम बराबरको काम सम्पन्न गरिने र बाँकी काम आगामी आर्थिक वर्षमा पूरा गरिने सिरखोलीसैन सेती नदी लिफ्ट सिँचाइ योजना जल उपभोक्ता समितिका उपाध्यक्ष लोगबहादुर बलायरले जानकारी दिनु भयो ।
उक्त सिँचाइ योजनाबाट सिरखोलीसैन गाउँका १६९ घरधुरीका करीब एक हजार ५ सय नागरिक लाभान्वित हुने जनाइएको छ । सो अवसरमा डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मलासीले किसानले व्यावसायिक तरकारी खेती गरेर उत्पादन बढाएमा नगरपालिकाबाट आगामी आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएर सिरखोलीसैनलाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेकपा डोटीका अध्यक्ष मल्लले शिरखोलीसैन गाउँका लागि शिलान्यास गरिएको सिँचाइ योजना अवसर भएको बताउनु भयो ।
Comments are closed.