डोटीका ग्रामीण भेगहरुमा रिचार्ज कार्डमा मनपरी मुल्य

  डोटीका ग्रामीण भेगहरुमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिचार्ज कार्डमा अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिने गरेको पाइएको छ । डोटीका गाउँघरमा व्यापारीहरुले रिचार्ज कार्डमा मनपरी रकम लिने गरेको स्थानीयवासीको गुनासो छ । व्यापारीले रिचार्ज कार्डमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ताको गुनासो छ । डोटीका गाउँमा १०० रुपैयाको रिचार्ज कार्डको १२० रुपैया, ५० रुपैयाको रिचार्ज कार्डको ६० रुपैया लिने गरेको स्थानीयवासीहरुले बताएका छन् ।

  डोटीको बोगटान फुड्सिल, जोरायल, पूर्वीचौकी, सायल, आदर्श र बडिकेदार गाउँपालिका लगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्यभन्दा बढी रुपैयाँ लिने गरेको डोटीको बडिकेदार गाउपालिकाको वडा नम्बर १ स्यली गाउँका श्यामबहादुर कलेलले बताउनु भयो । रिचार्ज कार्डमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले सो कुराको बेवास्ता गर्दै नियमविपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेका छन् ।

  रिचार्ज कार्ड बिक्री गर्ने व्यापारीहरुलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुट दिइने भएकाले उहाहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज कार्ड हो त्यति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारका व्यापारी किरण भण्डारीले बताउनु भयो । नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका रिचार्ज कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको भन्ने सुन्नमा आउने भएपनि उजूरी भने नआएको बताउनु भयो । बढी मूल्य लिएर रिचार्ज कार्ड बिक्री वितरण गर्नु भनेको गैरकानूनी भएको उहाले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.