बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु गएको पाँच महिनायता बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गतभदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनु भयो ।
एक जना शाखा अधिकृत, दुई जना नायब सुब्बा, एक जना सहलेखापाल, एक जना सहायक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा बैतडीको पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिस लगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।
कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको स्थानीय अनिरुद्र जोशीले जानकारी दिनु भयो । इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिकालागि गृह मन्त्रालयलाई पत्राचार गरेको भएपनि अहिलेसम्म कर्मचारी नआएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनु भयो । २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।