कैलालीमा दुई जना प्रहरीको हत्या गरिएको घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ

 कैलालीमा दुई जना प्रहरीको हत्या गरिएको घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गएको कार्तिक महिलनामा अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क.र प्रहरी जवान राम बहादुर साउदको हत्या गरिएको थियो । सो घटनाका मुख्य योजनाकार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १० जुगेडा बस्ने बर्ष ३४ का सुक बहादुर भन्ने अमर रानालाई पक्राउ गरी सोमवार पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

 घटनाका मुख्य योजनाकार राना घटना पश्चात भागी भारत तर्फ गएका र निजको निरन्तर खोज तलास जारी भएको अवस्थामा निज सुक बहादुर भन्ने अमर राना नेपाल तर्फ आई रहेको भन्ने विशेष सुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले निजलाई कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर १९ फुलबारी क्षेत्रको नेपाल भारत सिमा नजिकबाट पौष १२ गते राती पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनु भयो ।

 नेपाल भारतको सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क.र प्रहरी जवान राम बहादुर साउदले नियमित गस्ती गर्ने क्रममा कैलालीको धनगढी उप(महानगरपालिका वडा नं. १० स्थित जुगेडा कटान एरियामा भारत तर्फ गोरु गाडामा (डल्लव) मा मटर तस्करी गरि रहेको अवस्थामा गस्ती टोलीले फेलापारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समुहले दुबै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरी फालेको अवस्थामा मोहना नदीमा फेला परेको थियो ।

 प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क.को शव गएको कार्तिक २ गते बिहान अन्दाजी ९ बजेर ७ मिनेट तिरको समयमा फेला परेको र प्रहरी जवान राम बहादुर साउँदको शव गएको कार्तिक ४ गते बिहान अन्दाजी १० बजेर २५ मिनेटको समयमा मोहना नदीमा फेला परेको थियो । प्रहरीले सो घटनाको अनुसन्धानको क्रममा विभिन्न मितिमा घटनामा संलग्न ९ जनालाई पक्राउ गरी मुद्धा दर्ता गराइ सकेको थियो ।

  घटनामा संलग्न पर्कु भन्ने रोहित राना , राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्ता लाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतमा मुद्दा पेश गरि सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली जिल्ला अदालतको गएको मंसिर १६ गतेको आदेशले घटनामा संलग्नमध्ये ८ जना पुर्पक्षका लागी कारागार चलान र राजिव गुप्तालाई रु. १ लाख ५० हजार धरौटी तिरी तारेखमा छोडिएको छ ।

सम्बन्धित

Comments are closed.