पुसे १५’ पर्व बुधवार सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदै

डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व बुधवार सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । यो लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।

 घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रही आएको छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, माणा, निसौसे, रोट लगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ । पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।

 पुसे १५’ पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भएपनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको कतिपयको भनाई पाइन्छ । सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रातभर जाग्राम बस्ने गर्दछन् । रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ । दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्ते कथा सुनाउने व्यक्तिले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् ।

 राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन् । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ । दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ ।

 कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन् । पिँडा बिसाउने चौतारीका रुपमा पुसे पन्ध्रलाई विगतमा लिने गरिन्थ्यो । त्यो पुरानो चलन ठिक थियो । त्यसलाई जोगाउनका लागि चेतनाको दियो बाल्नुपर्ने बेला आएको छ । एकको घरमा पाकेको मिठामसिनो अर्कोलाई खुवाउने चलनसमेत यस पर्वमा रहेको छ । रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन समेत कञ्चनपुरको वेदकोट नगरपालिकाका जयसिंह जोशीले बताउनु भयो ।

 यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ । पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, र भारतको कुमाउ गढवाल क्षेत्रमा समेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.