एकता तथा मेलमिलाप दिवश विचार गोष्ठीको आयोजना गरी मनाइयो
महेन्द्रनगर, १६ पौष
४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश कञ्चनपुरको महेन्द्रनगरमा एक विचार गोष्ठी आयोजना गरी मनाइएको छ । राष्ट्रिय एकताका लागि सबै एकजुट बनौं राष्ट रक्षाका लागि राष्ट्र एकता नै आजको आवश्यकता भन्ने मुल नाराका साथ राष्ट्रिय एकताका लागि नागरीक जागरण यात्रा अभियानको आयोजनामा राष्ट्रमा विद्यमान राष्ट्रिय संकट निकाशमा वीपीको राष्ट्रिय मेलमिलापको नीति कति सान्र्दभिक रहन्छ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय एकताका लागि नागरीक जागरण यात्रा अभियानका सयोजक चक्रदेव जोशीको सभाअध्यक्षतामा सम्पन्न भएको सो विचार गोष्ठी कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द रहनु भएको थियो भने विशिष्ट अतिथि संवाद समुहका प्रशिक्षक तथा सहजकर्ता एवम् नेपाली काग्रेसका नेतृ तुलसी जोशी रहनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सबैले वीपीको मेलमिलापको नीतिको अवलम्बन गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । कार्यक्रममा बोल्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्दले विपीले देखाएको बाटोमा हिडे देश र जनताको भलाई हुने बताउनु भयो ।
उहाले विपीले दिएका एकता र मेलमिलापका सिद्धान्तहरु आजको दिनमा पनि उत्तिकै सान्र्दभिक रहेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै संवाद समुहका प्रशिक्षक तथा सहजकर्ता एवम् नेपाली काग्रेसका नेतृ तुलसी जोशीले जनता र राष्ट्रको सार्वभौमसत्ताको रक्षाका लागि जुन वीपी कोइरालाले दिनु भएको मेलमिलाप नीतिलाई अवलम्बन गर्नु जरुरी रहेको बताउनु भयो । साथै उहाले वीपीका सिद्धान्तहरुलाई अवलम्बन गरेमा अहिलेको देशको विषम परिस्थितिबाट पार पाउन सकिने बताउनु भयो । वीपी एक्लैले मेलमिलाप र एकताका लागि यति धेरै कार्य गरेको बताउदै संवाद समुहका प्रशिक्षक तथा सहजकर्ता जोशीले अहिले सम्पुर्ण नेपालीहरुले वीपीले दिनु भएका मेलमिलाप र राष्ट्रिय एकताका सिद्धान्तहरुको पुर्ण रुपमा पालना गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो ।