सुदुरपश्चिम प्रदेशमा शुक्रवार ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३० जनामा र डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा गरी कुल ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका १७ जना, कञ्चनपुरका ८ जना, बझाङका १ जना, दार्चुलाका ६ जना, बैतडीका १ जना र डडेल्धुराका ४ जना रहेका छन् । ३७ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ६ सय १६ जना पुगेको छ । तीमध्ये १० हजार ९ सय ८७ जना कोरोनामुक्त भइ सकेका छन् । सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या भने २ हजार ५ सय ७८ जना रहेका छन् । सुदुरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमित मध्ये ५० जनाको ज्यान गइ सकेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।