सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक चिह्न अर्थात संकेत नहुँदा सवारी चालकलाई समस्या
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक चिह्न अर्थात संकेत नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालकहरुले बताएका छन् । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्षेनी हराउँदै जान थालेका छन् । कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले–दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुनसकेको छैन । सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा राजमार्ग निकै साँघुरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारी साधन सञ्चालन गर्नमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना रहेको सुदूरपश्चिम बस व्यवसायी समितिका बसचालक मदन भट्टले बताउनु भयो । ट्राफिक सङ्केत नहुँदा सबैभन्दा बढी लामो दूरी तथा रातिको समयमा गाडी चलाउने चालकलाई समस्या हुने गरेको चालक भट्टको भनाइ छ । पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदा समेत त्यसको रोकथाम र मर्मतका लागि खासै पहल हुन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजमार्गका ट्राफिक चिह्न वर्षेनी हराउँदै गएका कारण सुुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा राजमार्गमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेको कतिपय नागरिकको बुझाइ छ । ट्राफिक चिह्नले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा लाइटबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिह्न नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी समिति दिपायलका हाइस चालक बमबहादुर बोहराले बताउनु भयो । पहाडी क्षेत्रमा राजमार्गमा भएका ट्राफिक सङ्केतलगायत अन्य चिजको सुरक्षा तथा दुर्घटनाबारे तत्काल जानकारी दिनका लागि सडक कार्यालयले ठाउँठाउँमा आफ्ना कर्मचारी राखेको भए पनि ट्राफिक सङ्केत कसले लैजान्छ भन्नेबारे उहाहरुलाई जानकारी नहुने गरेका कारण चोर पक्राउ गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय दिपायलमा कार्यरत डम्बरबहादुर विष्टले बताउनु भयो ।
Comments are closed.