बाजुराको बुढीनन्दा नगरपालिकाद्धारा बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता

 बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ । समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको बाजुराको बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिनु भयो ।

 सम्झौता पत्रमा पुजारी र पुरोहितहरुले बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा जन्मदर्ता अनिवार्य रुपमा माग गरी २० वर्ष उमेर पुगेको हकमा मात्र विवाह गराउने, बालविवाह भएको जानकारी पाए यथाशीघ्र जिम्मेवार निकायमा जानकारी गराउने र सम्झौता उल्लंघन गरेमा कानून बमोजिम सजायको भागिदार हुने उल्लेख भएको उहाले जानकारी दिनु भयो ।

 विगतदेखिका जनचेतना फैलाउने अभ्यासहरुले केही हदसम्म बालविवाह न्यून भए पनि सन्तोषजनक नतिजा आउन नसकेको यथार्थ रहेको बताउदै उपप्रमुख रेग्मीले हिन्दु धर्म अनुसार विवाह गराउन ब्राह्मण अनिवार्य भएको हुँदा, बाजुराको बुढीनन्दा नगरपालिका अन्तर्गतका मुख्य पुजारी र पुरोहितहरुलाई बालविवाह न्यूनीकरणको अभियानका सहयात्री बनाउने प्रयास गरिएको बताउनु भयो । पुजारी र पुरोहितहरुको उत्साहपूर्ण सहभागिता र सहमतिले आफूहरुलाई आशावादी बनाएको समेत रेग्मीले बताउनु भयो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.