सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्माण गरिएको खप्तड घरवास (होमस्टे)ले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्नका लागि भित्रिने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले बताउनु भयो ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहज रूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको खप्तड घरवास (होमस्टे)का सञ्चालक खड्काले बताउनु भयो । घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार र डोटीको दिपायलबाट १० हजार रुपैयामा खप्तड घुम्न पाइने भएको छ ।
कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको डोटीको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी धर्मबहादुर साउदले बताउनु भयो ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले खप्तडको शोभा झनै बढाउने स्थानीवासीहरुले बताएका छन् ।
Comments are closed.