सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिनु भएको छ । नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिनु भएको हो । बुधवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिनु भएको हो ।
उहा नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समुहमा रहेको जनाइएको छ । ओली पक्षले उहालाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । मन्त्री पदबाट राजीनामा दिने बेला बोहराले प्रेश विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम प्रदेशको आर्थिक क्रियाकलापहरुलाई प्रोत्साहन गर्न लगानी मैत्री कानुन र संरचना तयार भएको बताउनु भएको छ । गरीबी र पछौटेपनामा रहेका वर्ग तथा क्षेत्र र समुदायको उत्थान, काम र रोजगारमा वृद्धि, आर्थिक क्रियाकलाप बढोत्तरीका लागि वितीय पहुचमा वृद्धि, आधारभुत शिक्षा र प्राथमिक स्वास्थ्य सेवाको पहुच अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने कामका लागि आवश्यक पर्ने सबै वित्तीय प्रवन्धहरु मिलाइएको बोहराले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । देशको कुल गार्हस्थय उत्पादनमा सुदुरपश्चिम प्रदेशको हिस्सालाई बढाउदै लगिएको बताउदै उहाले सात वटा प्रदेश सरकारहरुमध्ये वित्तीय अनुशासनको परिपालना गर्दै धेरै पुँजीगत खर्च गर्ने अवस्थामा सुदुरपश्चिम प्रदेश सरकारलाई स्थापित गर्न अग्रणी भुमिका निर्वाह गरेको दाबी गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइ सक्नु भएको छ । बोहरा पनि बाहिरिएपछि सुदुरपश्चिम प्रदेश सरकारमा दाहाल–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन् ।
Comments are closed.