कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका ७ वटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनु भयो ।
उहाका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ । खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेकाले बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनु भयो । मन्त्रालयले कैलाली तथा गड्डाचौकी नाका र प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोतसाधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो ।
मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू संक्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिनु भयो । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टीन कार्यालय छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।
Comments are closed.