बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरियो

 कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एक जनाको ज्यान गएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी क्षेत्रका एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएपछि त्यो क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो । केही दिन अघिमात्रै गढी क्षेत्रमा एक जनामा मृत्युपश्चात कोरोना पुष्टि भएको र उहाको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ सम्म सिल गर्ने निर्णय भएको बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनु भयो । गढी क्षेत्रमै अहिले पनि सातजना सक्रिय संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको चन्दले बताउनु भयो ।

 गढी क्षेत्र सिल भएसँगै आवतजावत, शिक्षण संस्था, बजार तथा पसलहरु बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु भयो । कोरोना समुदायमा फैलिए झन् समस्या हुने भएकाले नगरपालिकाको गढी क्षेत्र सिल गरेको बैतडीको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताउनु भयो ।

 गढी क्षेत्र सिल गरिएको भए पनि दशरथचन्द नगरपालिकाको कार्यालय बाहेकका अन्य सम्पूर्ण कार्यालयहरु खुला रहने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनु भयो । बैतडीमा अहिलेसम्म ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने कोरोना भाइरस संक्रमणको कारण दुई जनाको ज्यान गइसकेको छ । बैतडीमा अहिले ३२ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । बैतडीको दशरथचन्द नगरपालिकामा २१, पाटन नगरपालिकामा १० र दोगडाकेदार गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित

Comments are closed.