कैलालीमा शीतलहर बढ्न थालेपछि कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न सुरू गरेको छ । सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका १ सय १२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागेको हो ।
प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ । शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताउनु भयो । ७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका बताउदै उहाले अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराइ रहेका बताउनु भयो ।
दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ का ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताउनु भयो । चिसो बढेका बेला घरमै दाउरा ल्याइदिएकाले अब आगो तापेर बस्न पाइने उहाले बताउनु भयो ।
Comments are closed.