संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालले चलनभोग गर्ने गरी फिर्ता ल्याईने बताउनु भएको छ । लामो समयदेखि कालापानीको मुद्दा उठाउँदै आउनु भएका मन्त्री ठगुन्नाले मिचिएको भूमि फिर्ताको लागि वर्तमान सरकार लागि परेको बताउनु भएको हो । सरकारले मिचिएको भूगोल समेटेर नक्सा जारी गरेको र भूगोल फिर्ता ल्याउने विषयमा सरकारले कूटनीतिक पहल निरन्तर गरिरहेको दार्चुला सदरमुकाम खलंगामा आयोजित नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले बताउनु भएको हो ।
अहिले पनि परराष्ट्रमन्त्री स्तरमा हुने दुई देशीय बैठकमा समेत यो विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो गुमेको भूमि सहितको नक्सा जारी गरेपछि पार्टी भित्रै र बाहिरबाट असहयोग शुरु भएको भन्दै अहिलेको सरकारले राष्ट्रियताको बारेमा राखेको अडान निरन्तर राख्ने बताउनुभयो । मिचिएको भूमि फिर्ताको लागि सरकारले निरन्तर संवाद र कूटनीतिक पहल जारी राख्ने मन्त्री ठगुन्नाको भनाइ छ । मन्त्री ठगुन्नाले वर्तमान सरकार विकास र परिवर्तनको बाटोमा लागेको बताउदै आफ्नो कार्यकालमा दार्चुलावासीले गर्भका साथ सम्झनयोग्य काम गर्ने बताउनु भयो ।
पार्टीभित्रकै केही शक्तिले विकासका कामहरुमा अवरोध शृजना गर्नेदेखि सरकार नै ढाल्नेसम्मका अप्रिय प्रयास गरेपछि प्रतिनिधिसभा विघटन भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा भौगोलिक अखण्डता, सामाजिक सुरक्षा र विकास तथा समृद्धिको पक्षमा काम गरिरहेको मन्त्री ठगुन्नाले बताउनु भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले वैज्ञानिक ढंगले कर्मचारी समायोजन गर्नेदेखि दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम अगाडि बढाउने बताउदै उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्नुभयो ।
संविधान, कानुन र विधि पद्धतिअनुसार नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भइसकेकोले प्रतिगमनको कल्पना गर्न नसकिने उहाँको भनाइ छ । वर्तमान समयमा नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजी रहेकोले सरकारले सोही अनुसार जनआदेशको पालना गरिरहेको मन्त्री ठगुन्नाले बताउनुभयो । अहिले देशमा राजनैतीक आन्दोलनको आवश्यकता नरहेको बताउँदै उहाँले विकास र परिवर्तनमा सरकार केन्द्रित हुने धारणा राख्नुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले अबको आन्दोलन विकास र परिवर्तनका लागि हनुपर्ने बताउदै देशको भौगोलीक अखण्डताको लागि आन्दोलन हुनुपर्ने बताउनु भयो ।
राजनैतीक आन्दोलन छोडेर विकास हुने, नेपाली जनताको गरिबी दूर गर्ने र बेरोगारहरुलाई रोजगारी दिने आन्दोलनमा सहकार्य गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । जनताको जनादेश अनुसार आफुहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पार्टीका अन्य सदस्यलाई पनि मूलधारको नेतृत्वमा आउन आग्रह गर्नुभयो । दार्चुलामा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गर्दै उहाँले आगामी चुनावमा स्थानीय तहदेखि प्रदेश र संघीय सभामा नेकपाको बिजय सुनिश्चित हुने दाबी गर्नुभयो ।
Comments are closed.