डडेल्धुरा जिल्लामा विमानस्थल नहुदा त्यहाका पर्यटकीय सम्पदाहरु ओझेलमा परेका जनइएको छ । डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म डडेल्धुरामा एउटा पनि विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका जनाइएको हो । नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ सालमा डडेल्धुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन गरेको भएपनि काम भने अघि नबढेको हो । त्यतिबेला सो टोलीमा सहभागी नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) डडेल्धुराका नेता डा. तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा (एमाले) को तर्फबाट उक्त पहल कदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमति नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न नसकेको हो ।
त्यतिबेला डडेल्धुराका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेल्धुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका वडा नम्बर ३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा पर्ने भागेश्वर सामुदायिक बन असिग्राम र अजयमेरु गाउँपालिका वडा नम्बर १ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो ।
डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल प्रोफाइल तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले डडेल्धुरा जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको प्रोफाइल निर्माणको काम भइरहेको छ । प्रोफाइल निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो ।
उहाँले डडेल्धुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने बताउनु भयो । कैलालीको धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद् र बर्खायामको बेला विभिन्न कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको बताउदै अमरगढी नगरपालिकाका नगर प्रमुख ओझाले डडेल्धुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने बताउनु भयो । डडेल्धुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए व्यापार व्यवसायसमेत फस्टाउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले बताउनु भयो ।
डडेल्धुराका कतिपय भूभाग भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापार प्रवद्र्धनमा पनि विमानस्थलले सहयोग पुग्ने उहाँको भनाइ छ । डडेल्धुराका कतिपय पर्यटक स्थल, मल्लकालीन राजदरबार, विभिन्न शक्ति पीठ आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्ने भएकाले विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
Comments are closed.