दार्चुला तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । दार्चुलाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि दार्चुला जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो । दार्चुलामा बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत शङ्करदत्त अवस्थीले बताउनु भयो ।
दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ । जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ । यस्तै दार्चुलामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ । दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ । त्यसबाट ६ हजार २ सय ९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र दार्चुलासँगै पछिल्लो समय स्थानीय तह, सङ्घ, प्रदेश र गैरसकारी सङ्घ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन् । दार्चुलामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको छ । किसानलाई बीउ बिजनदेखि उनीहरुलाई व्यावसायिक तालीममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग पु¥याउँदै आएको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताउनु भयो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ भन्दा गत आर्थिक वर्ष २०७६÷७७ मा ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती थप विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तरकारी लगाउने सिजन शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदे तरकारी लगाउन थालिएको छ । धान गोड्ने काम र कोदो रोपाइँ सकेका किसान यतिबेला हिउँदे तरकारी लगाउन व्यस्त बनेका छन् । किसानले काउली, बन्दा, रायो, मुला, चम्सुर, पालुङ्गो, धनियाँ, गाँजर लगायतका तरकारी लगाउन शुरु गरेका छन् । भदौदेखि मङ्सिर हुँदै माघसम्म हिउँदेबाली लगाउन सकिने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि प्राविधिकले हाइब्रिड भन्दा स्थानीय जातको मीठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढी देखिएको बताएका छन् । काउली, बन्दालगायतका तरकारीको बेर्ना उमार्ने काममा किसान लागेका छन् ।
कतिपय स्थानका किसानले भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत शुरु गरिसकेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताउनु भयो । विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण जोखिमसँगै अधिकांश जनशक्ति ग्रामीण भेगमा केन्द्रित हुँदा यसवर्ष तरकारी उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा युवा पुस्ता पनि व्यावसायिक कृषिमा आकर्षित भएकाले पनि तरकारी उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि ज्ञान केन्द्र दार्चुला तथा विभिन्न सङ्घ संस्थाले तरकारी खेतीमा किसानलाई आधुनिक तरकारी खेतीको तालीम र बिउबिजन वितरण गर्न थालेपछि गाउँका किसान तरकारी खेती गर्न हौसिएका छन् ।
उत्पादित तरकारी बजारसम्म पु¥याउन सजिलो होस् भनेर विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्र पनि स्थापना भएका छन् । तरकारीको माग उच्च रहेकाले बिक्री पनि तुरुन्तै हुने भएकाले किसानको आयआर्जन बढ्न थालेको बताइएको छ । दार्चुलामा उत्पादनका हिसाबले आत्मनिर्भर भए पनि बजार व्यवस्थापन सहज नहुँदा उत्पादित तरकारी अपेक्षित रुपमा बजार आउन नसकेको कार्यालयले जनाएको छ ।
Comments are closed.