सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा कारवाहीमा पर्ने सवारी साधनहरुको संख्या ३९ हजार ३०० भन्दा बढी,

 सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ३९ हजार ३०० भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्रयाक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

 ६ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र सबैभन्दा कम भदौमा तीन हजार ५५६ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट दुई करोड २८ लाख ६७ हजार ५०० रुपैया राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिनु भयो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा दुई करोड ११ लाख ७१ हजार ५०० रुपैया राजस्व सङ्कलन भएको थियो बताउदै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक साउँदले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारवाहीमा परेका बताउनु भयो ।

 जसमा गत वर्षभन्दा १६ लाख ९६ हजार राजस्व बढी सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता साउँदको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा यस वर्षको ६ महिनामा ३ सय ३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हँुदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ जनाको ज्यान गएको छ ।

 यो अवधिमा ३ सय २० गम्भीर र २९० सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनामा १३६ सवारी साधन दुर्घटना भएका थिए । एक सय ३६ सवारी साधन दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ जनाको ज्यान गएको थियो । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटना समेत बढेको तथ्याङ्क छ । सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.