बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई पहिलो ‘कोभिशिल्ड’ खोप लगाएर अभियान सुरु भएको हो । बाजुरामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ । जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि सुरु भएको खोप अभियान १९ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताउनु भयो । अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने बिहीवारबाट सुरु भएको हो ।
खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । पहिलो चरणमा जिल्ला अस्पताललाई मात्र खोप केन्द्रका रुपमा स्थापना गरिएको र जिल्ला अस्पतालबाटै खोप सेवा दिइने बताइएको छ । यो परीक्षण भएकाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने गरी दुर्गम क्षेत्रमा खोप केन्द्र स्थापना गर्न नसकिएको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताउनु भयो ।
स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, एम्बुलेन्स तथा कोरोना संक्रमितलाई ओरोर दोहोर गर्ने गाडी चालकलाई पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताउनु भयो । पहिलो चरणको खोप जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यालय बाजुराका १७ जना जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षकर्मीलाई लगाइने भएको छ । पहिलो दिन माघ १५ गते १ सय २२ जनालाई लगाइएको छ भने माघ १६ गते १ सय ६१ जनालाई खोप लगाइने भएको छ । त्यस्तै १७ गते २ सय ७ जना, १८ गते १ सय ९८ र १९ गते २ सय १० जनालाई लगाइने भएको छ ।
Comments are closed.