जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदीबन्दी तथा कारागारमा सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामाकर्मीलाई उक्त खोप लगाइएको हो । कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ८४ जना भए पनि चारजना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताउनु भयो ।
पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्टलाइनमा काम गर्ने एक हजार ५ सय २६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजना अनुसार कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । अहिले डोटीका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनु भयो । कम्तीमा पनि ६ दिनभित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ ।