जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा कारागारको सुरक्षामा खटिएका १९ जना सुरक्षार्मीलाई खोप लगाइएको हो ।
कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ जना रहेका छन् जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उहाहरूमध्ये २४ जना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति भट्टले बताउनु भयो । पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका अग्रपंत्तिमा काम गर्ने एक हजार २० जना स्वास्थ्यकर्मी, कर्मचारी, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनु भयो । अहिले डडेल्धुराका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । कम्तीमा पनि ६ दिनभित्रमा पहिलो चरणको खोप लगाइ सकिने योजना भएपनि उक्त सात दिनका लागि थप गरिएको छ । डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थियो ।