सुदूरपश्चिम प्रदेश लिग बिहीबार र शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला बिजेता टोलीहरु बीच प्रदेश लिगको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला बिजेता निसर्ग स्टार सिटी युवा क्लब र कञ्चनपुरको जिल्ला बिजेता दीपज्योती युवा क्लबले होम एण्ड अवेको आधारमा उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेको कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल संघका महासचिव अमृत शाहले जानकारी दिनु भयो ।
बिहीबार दुबै टोलीले महेन्द्रनगर रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल धनगढीको जुगेडामा रहेको मनकामना युवा क्लबको मैदानमा खेल्नेछन् । प्रदेश लिगको उपाधि जित्ने टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट कपमा सहभागीता जनाउनेछ । होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका बिजेता टीमहरुका बीचमा प्रदेश लिग हुनेछ । सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका जिल्ला बिजेताहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् । सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ ।
त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ । प्रदेश लिगको सम्पूर्ण तयारी पुरा भएको प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनु भयो । चार लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा एन्फाले तीन लाख रकम सहयोग गर्नेछ भने अपुग रकम स्थानीय स्तरबाट व्यहोरिने भएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश लिगमा सहभागीता जनाउने दुबै टोलीको जर्सी सार्वजनिक गरिएको छ । कैलालीको जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लबलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटलले प्रदेश लिग खेल्नका लागि साथ दिएको छ । निसर्ग अस्पतालले मुख्य प्रायोजक भएर साथ दिएको हो । क्लबको नाम अब निसर्ग स्टार सिटी युवा क्लब भएको छ । यस्तै क्लबको सह–प्रायोजकमा एमएनएस ग्रुप रहेको छ । २०७१ सालमा स्थापना भएको क्लब दुई पटक जिल्ला बिजेता बनिसकेको छ । क्लबले कुवेर सिंहको कप्तानीमा प्रदेश लिग खेल्ने टीमको घोषणा गरेको छ । कञ्चनपुरको जिल्ला च्याम्पीयन दीप ज्योती क्लब दुई पटक जिल्ला बिजेता भइसकेको भएको छ । २०४७ सालमा दीपज्योती स्पोर्टस युवा २०६४ सालमा दीपज्योती क्लबको नामदेखि खेलकुदमा लाग्दै आएको छ