अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ

महेन्द्रनगर, २९ माघ
कञ्चनपुरमा विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ जना महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहुविवाह, लागुऔषध र जबर्जस्ती करणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले कञ्चनपुरमा सक्रिय रूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिनु भयो । प्रायः अभियुक्त लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी धमाधम जिल्ला अदालतमा पेश गरिरहेको बताउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले अदालतबाट पनि कैद भुक्तान गर्न कारागार पठाउने काम भइरहेको बताउनु भयो । फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि कञ्चनपुर जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालित छन् ।

 विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ । कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले कारागारमा ३ सय ९६ जना कैदीबन्दी रहेको बताउनु भयो । ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा क्षमताभन्दा धेरै बढी कैदीबन्दी राखिएका छन् ।

सम्बन्धित

Comments are closed.