संवाद समुह कञ्चनपुरद्धारा कञ्चनपुरमा रहेका आरक्षपीडितहरुको भुमि सम्बन्धी समस्याको समाधानका विषयमा बिहीवार संवाद गरीयो
संवाद समुह कञ्चनपुरले कञ्चनपुरमा रहेका आरक्षपीडितहरुको भुमि सम्बन्धी समस्याको समाधानका विषयमा बिहीवार संवाद गरेको छ । कञ्चनपुरको ढक्का शिविरमा १४ वटै शिविरका वासिन्दाहरु तथा जनप्रनिनिधीहरुसंग संवाद समुह कञ्चनपुरले संवाद गरेको हो । भुमि सम्बन्धी समस्या समाधान आयोगले जग्गा धनी पुर्जा वितरणका लागि तथ्यांक संकलन गरि रहेको अवस्थामा आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि जनप्रतिनिधी तथा सरोकारवाला निकायहरुको भुमिका के रहन्छ र आरक्ष पीडितहरुको अपेक्षा के रहेको छ भन्ने विषयमा संवाद गरिएको हो ।
संवाद समुह कञ्चनपुरका सहजकर्ता एव्म प्रशिक्षकद्धय तुलसी जोशी र गगन खत्री, संवाद समुह कञ्चनपुरका सदस्य एवम् नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णुदत्त अवस्थी, संवाद समुह कञ्चनपुरका सदस्य मधु बोहराको उपस्थितिमा गरिएको संवाद कार्यक्रममा आरक्षपीडित १४ वटा शिविरमा बसि रहेका वासिन्दाहरु तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । संवाद कार्यक्रममा बोल्दै आरक्ष पीडितहरुले आफुहरु भुमिहिन नभएकाले भुमि सम्बन्धी समस्या समाधान आयोगले भर्न लगाइ रहेको फर्म आफुहरुले नभर्ने बताउदै आफुहरुले आफ्नो गुमेको भुमि फिर्ता पाउनु पर्ने बताएका छन् ।
साथै आरक्ष पीडितहरुले आफुहरुको समस्या समाधानका लागि छुटट्ै आयोग गठन गर्नुपर्ने र त्यसका लागि सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट पहल गरिदिनु पर्ने बताएका छन् । आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि जनप्रतिनिधी, आरक्षपीडित तथा अन्य सरोकारवालाहरुसंग संवाद गर्नका लागि आफुहरु तयार रहेको संवाद कार्यक्रममा सहभागी संवाद समुह कञ्चनपुरका प्रतिनिधीहरुले बताएका छन् । संवाद कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले पनि आरक्ष पीडितहरुको समस्या समाधानका लागि आफ्नो तहबाट पहल गर्ने बताएका छन् ।