डडेल्धुराका अगुवा कृषकहरु पछिल्लो समय लोप हुन थालेका

  डडेल्धुराका अगुवा कृषकहरु पछिल्लो समय लोप हुन थालेका रैथाने जातका बीउबिजनतर्फ आकर्षित हुदै गएको पाइएको छ । बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजनतर्फ आकर्षित हुदै जान थालेका हुन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का कृषक रामबहादुर ऐलेर पछिल्लो समय परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भइरहेको बताउनु भयो ।

  तराईमा उत्पादन हुने र पछिल्लो समय बङ्गलादेशबाट आयात गरिएको मासभन्दा पहाडी क्षेत्रमा उत्पादन भएको मासले दोब्बर मूल्य पाउने गरेको किसानहरूको भनाइ छ । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का अगुवा कृषक तेजबहादुर खड्काले रैथाने जातको भटमास, गहत, राजमा, बोडी र सिमीलगायतका वस्तुको माग पनि त्यत्तिकै बढ्न थालेपछि कृषक यी कृषि उपजको उत्पादनमा लागेका बताउनु भयो । डडेल्धुरामा उत्पादन भएको राजमा, गहत र मास सिधै काठमाडौँ पुग्न थालेको जनाइएको छ । त्योभन्दा परम्परागत जातका बीउबिजनबाट उत्पादित वस्तुको सानो बजार भए पनि मुनाफा राम्रो हुने गरेकाले लोप हुन थालेका परम्परागत बीउबिजन पुनः प्रयोग हुन थालेको हो । परम्परागत बीउबिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा प्रशस्त रहेको कृषक धनीराम जोशीले बताउनु भयो ।

  सरकारले पनि रैथाने बीउबिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताउनु भयो । रैथाने जातका बीउबिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उहाको भनाइ छ । पहाडी क्षेत्रमा अहिले पनि परम्परागत र रैथाने बीउबिजनको प्रयोग भइरहेकाले यसको संरक्षणमा कठिनाइ नरहेको कृषि प्राविधिकको भनाइ छ । सदरमुकाम आसपासका कृषकहरूले ठूलो मात्रामा व्यावसायिक खेती गरिरहेका कारण हाइब्रिड र उन्नत जात प्रयोग गरेपनि कतिपय ग्रामीण क्षेत्रमा भने रैथाने बीउको प्रयोग बढ्न थालेको छ । रैथाने जातका बीउको प्रयोग र संरक्षणको प्रयासमा अन्य जिल्लाका किसान लागेको स्थानीय किसानको भनाइ छ । हाइब्रिड जातका कृषि उपजभन्दा रैथाने जातका कृषि उपज खानमा बढी स्वादिलो हुने गरेको कृषकको भनाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.